Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

महिलालाई बेहोस पारेर भारतमा बिक्री


पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्‍याएर बेचेको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्‍याएको पीडितको बयान छ। उनले पीडितका दिदीबहिनीलाई नै यसरी पुर्‍याएको पनि खुल्न आएको छ। उनीहरुलाई छट्टाछुट्टै कोठीमा पुर्‍याएर बिक्री गरेको ब्युरोको दाबी छ।

भारतको कोठी सञ्चालकले उनलाई तीन लाख रूपैयाँमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ। उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पुर्‍याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ। एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ। उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार