उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ।मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै एक हजार वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका छन्।
मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका रहेका छन् । हिउँमा फसेर ज्यान गुमाउनेमा एक प्रहरी, उनकी श्रीमती र उक्त दम्पतीका छ सन्तान छन् भने अर्को एक परिवारका पनि पाँच जनाले ज्यान गुमाएका छन्।
सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ। गृहमन्त्री शेख रसिदका अनुसार राजधानी इस्लामाबादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरूको सङ्ख्या उच्च भएकाले सङ्कट सिर्जना भएको हो।
मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू प्रेषित गरेका थिए। तर शुक्रवार स्थानीय सञ्चारमाध्यमले त्यहाँ पर्यटकहरू हिउँमा फसेको जानकारी सार्वजनिक गर्यो।
शनिवारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरे। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडिओमा गाडीहरूको छानासम्मै हिउँ जमेको देखिन्छ।
प्रहरीका अनुसार कम्तीमा छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो। धुवाँमा सास फेर्दा अक्सिजन कमी हुनुलाई मृत्युको सम्भावित कारण मानिएको छ।





