Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

मौसमी रुघाखोकी र कोरोना संक्रमण कसरी छुट्याउने ?


पछिल्लो एक महिनायता नेपालमा कोभिड संक्रमण निरन्तर बढिरहेको छ । कोभिडसँगै मौसमी रुघाखोकीको संक्रमण पनि यही समयमा बढेको छ । मौसमी रुघाखोकी तथा ज्वरो देखिएका अधिकांश व्यक्तिहरूमा कोभिड भएको हो कि भन्ने त्रास देखिन्छ ।कुनैपनि संक्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड अपनाउनु नै प्राथमिक उपाय भएको विशेषज्ञहरू बताउँछन् । यसबाहेक सैद्धान्तिक रूपमा लक्षणका आधारमा मौसमी रुघाखोकी र कोभिड संक्रमण छुट्याउनसक्ने केही आधारहरू हुन्छन् ।

मौसमी रुघाखोकीमा हाछ्युँ आउने, सिँगान आउने, खोकी धेरै लाग्ने, लगातार ज्वरो बढ्दै जानेजस्ता लक्षण देखिन्छन् । तर, आफूलाई शंका भएमा यी नै लक्षण भएपनि एन्टिजेन तथा पीसीआर परीक्षण गर्न विशेषज्ञहरू सुझाव दिन्छन् ।कोभिड संक्रमणमा भने अहिलेसम्मको लक्षणअनुसार उच्च ज्वरो आउने, स्वाद वा गन्ध हराउने, जिउ दुख्ने, सुख्खा खोकी लाग्नेजस्ता लक्षणहरू देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा विमल चालिसे बताउँछन् ।

तर, जुनसुकै लक्षण देखिए पनि संक्रमण अरूमा सर्नसक्ने सम्भावना हुन्छ नै । त्यसैले आफूलाई मौसमी फ्लू वा कोभिडका लक्षण देखिएमा अरूबाट छुट्टै बस्न र निको नहुन्जेलसम्म अरूसँग नभेट्न डा चालिसे सुझाव दिन्छन् ।कोभिड १९ का जुनसुकै भेरियन्ट देखिएपनि समुदायमा फैलिन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्नु र भिडभाडमा नजानु नै रोकथामको सबैभन्दा भरपर्दो उपाय भएको जनस्वास्थ्यविदहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार