इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परे पश्चात् सम्बन्धित कसूरमा कारवाही गराउन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो।
मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेका थिए। उक्त मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भएको थियो।इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा मार्फत् इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते मगरविरुद्ध रेड नोटिस जारी गरिएको थियो।
मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।





