नवलपरासीमा बाघको आक्रमण बढ्दै गएपछि सो बाघ नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताए ।
‘हामीलाई जानकारीमा आएअनुसार बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेको छ, त्यसैले मानिसलाई आक्रमण गर्ने बाघ कुन हो भनेर हामीले क्यामेरा ट्रयापिङका माध्यमबाट अनुगमन गरिरहेका छौँ’, तिवारीले भने, ‘अनुगमन नै नगरी एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने काम हुनसक्छ, त्यसैले अनुगमनपछि यकिन गरेर बाघ नियन्त्रण हुन्छ ।’
‘हामीले सोचेजस्तो बाघ एकै ठाउँमा बस्ने प्राणी होइन, बाघ ठूलो क्षेत्रफलमा हिँडिरहन्छ’, तिवारीले भने, ‘वन क्षेत्रमा दिउँसोमा सुरक्षा सतर्कता अपनाउँदै अनुगमन भइरहेको छ, बाघको ताजा पाइला देखेको अवस्थामा सोहीअनुसार अनुगमन हुन्छ ।’
दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका छन् । चौपाया चराउन जङ्गल जानेले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन् ।





