Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

मरिससमाथि नेपालको लगातार दोस्रो जित, गोलभन्दा कार्डको वर्षा


नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले निर्णायक गोल गरेका थिए । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे।

खेल मैत्रीपूर्ण भए पनि मोरिससका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिए। त्यस्तै, दुई पहेलो कार्ड पाएका पुजन नगरकोटीले पनि दोस्रो हाफमा मैदान छोडेपछि नेपाली टिम पनि १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफको खेल सौहार्दपूर्ण रहे पनि दोस्रो हाफको १५ मिनेटमा स्थिति तनावपूर्ण बन्यो।

​दुवैतर्फका खेलाडी र अफिसियल अस्तव्यस्त छरिएको अवस्थामा नेपाली टिमका गोलकिपर प्रशिक्षक विकास श्रेष्ठले भने रेड कार्ड पाए। उनी खेलाडीको झगडाबीच मैदान प्रवेश गरेका कारण रेड कार्ड पाएका हुन्।

​मोरिससविरुद्धको पहिलो खेलमा पनि नेपालले १–० गोलको जित निकालेको थियो। पहिलो खेलमा सुरुआती रोजाइमा पर्दै गोलसमेत गरेका विमल घर्ती मगर आजको खेलमा भने ५६ औं मिनेटमा मात्र मैदान पसेका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार