Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

प्रहरीद्वारा चोरी भएका २८ थान सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण


महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरूलाई बुझाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त सवारी साधन हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यकाको व्यस्त बजार क्षेत्र र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका सवारी साधन प्रहरीको टोलीले फेला पारेको महाशाखाले जानकारी दिएको छ।जोशीले मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखेर सूचना संकलन भइरहेको बताए। मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी भइरहेकोसमेत उनले जानकारी दिए।

चालु आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको निवेदन परेको मध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको महाशाखाले जनाएको छ। जसमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको पनि महाशाखाले जनाएको छ।

यस्तै २८ वटा चोरीका मोटरसाइकलसहित ३८ जना चोरीमा संलग्नहरू लाई पक्राउ गरी अनुसन्धान एवं कारबाहीको लागि बिभिन्न प्रहरी बृत्तहरूमा पठाएकोसमेत महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार