तुलसीपुर उपमहानगरपालिका-५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।
ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-५ का नजरदिन अली, उनकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अली अन्दाजी ४०-४२ वर्षीय, उनकी छोरी साजिता १४ वर्षीया र छोरा आविदिन ५ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।
त्यही पसलमा काम गर्ने अन्दाजी १५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको ज्यान गएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हो ।








