Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

के रवीन्द्र मिश्रहरुलाई केजरीवाल बन्ने अवसर अझै छ ?


भारतमा भएको विधानसभाको चुनावमा आम आदमी पार्टीले पाएको सफलता देखेर पक्कै नेपालमा पनि केहीले थुक घुटुघुटु निलिरहेका छन् । आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै राजनीतिमा होमिएकाहरु त्यहाँको निर्वाचन नतिजाबाट उत्साहित हुनु र यता पनि त्यस्तै भए क्या मज्जा हुन्थ्यो भनेर कल्पना गर्नु अन्यथा होइन । तर, भारतको आम आदमी र यहाँ आफूलाई आम आदमीको ठाउँमा राखेर मनको लड्डु घिउसित खाइरहेकाहरुका बीचमा अन्तर चाहिँ सामान्य छैन ।

आज भन्दा १० वर्षअघि भारतमा स्थापना भएको आम आदमी पार्टीले पञ्जाबमा दुई तिहाई भन्दा बढी मत ल्याएर देखाइदियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नेतृत्व गरेको पार्टी आम आदमीले ११७ सदस्यीय विधानसभामा ९२ सिट हात पारिरहँदा अघिल्लोपटक ७७ सिट जितेर सरकार बनाएको कांग्रेस जम्मा १८ सिटमा खुम्चियो । आम आदमीका लागि यो ऐतिहासिक सफलता हो भने नेपालमा पनि वैकल्पिक शक्ति निर्माण गरेर देशलाई कायापलट गर्छौं भन्नेहरुका लागि एउटा प्रेरणादायी समाचार ।

वैकल्पिक शक्तिका विषयमा कुरा गर्दा देशमा केही वर्ष अघिसम्म एउटा नयाँ शक्ति भन्ने पार्टी थियो । जसको चुनाव चिन्ह आँखा थियो । डा.बाबुराम भट्टराईले शुरु गरेको त्यो पार्टीमा नायिका करिष्मा मानन्धरदेखि लिएर पूर्व अर्थसचिव रामेश्वर खनालसम्मका मान्छेहरु थिए । तर, आँखा चुनाव चिन्ह भएको त्यो पार्टीले आँखा पनि छिट्टै चिम्लियो । रामेश्वर खनाल लगायतका व्यक्तिहरुले राजनीति आफूहरुको क्षमताको विषय होइन रहेछ भन्ने टुइट गर्दै राजनीतिबाटै टाटा बाई बाई गरे । बाबुराम भट्टराईहरु तराईतिर झरेर उपेन्द्र यादवहरुसँग मिल्न पुगे भने करिष्मा मानन्धरहरु जिन्दगीमा एसएलसी त पास गर्नैपर्ने रहेछ भनेर स्कुलतिर पढ्न लागे । अब अस्तित्व नै नरहेको त्यो नयाँ शक्तिको चर्चा धेरै नगरौ ।

अब चर्चा गरौं विवेकशील नेपाली दलको । साँच्चै भन्ने हो भने देशमा वैकल्पिक र आशालाग्दो शक्तिका रुपमा आफूलाई स्थापित गर्दै गरेको दल विवेकशील नेपाली थियो । उज्ज्वल थापाले नेतृत्व गरेको त्यो दल नपत्याउँदो हिसाबले युवाहरुका माझमा स्थापित हुँदै थियो । रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएर अघिल्लोपटकको चुनावमा युवा जमातको ध्यान मात्रै होइन चुनावी मत पनि गज्जबले तानेको यो दल त्यही मतको मातमा लागेर बहकियो । अल्लारे केटाकेटीले जोडी खोज्दै हिँडे जस्तै यो दलले पनि आफ्नो जोडी खोज्न लाग्यो । बिबिसीका पूर्व जागिरे रवीन्द्र मिश्रले शुरु गरेको साझा दलसँग केही समयको अफेयर्सपछि विवेकशील नेपाली दलको लगनगाँठो कसियो । तर, कसिएको लगनगाँठो केही समयमै खुस्कियो ।

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गरेपनि विवेकशील र साझाका नेताहरु नेपाली राजनीतिमा अल्लारे नै रहेछन् । एउटा अध्ययनले भनेको छ डिभोर्सपछिका वैवाहिक सम्बन्धहरु ९० प्रतिशत असफल हुने गरेका छन् । तर, राजनीतिमा त्यो लागु हुँदैन भन्ने लागेर होला विवेकशील साझाका नेताहरु फेरि दुईदलको मिलनमा जुटे । मिलन पाण्डे र रवीन्द्र मिश्रको नेतृत्वमा फेरि दुई दल एक भए । सबैलाई थाहै छ, अहिले फेरि त्यहाँ मच्चिएको भाँडभैलोले विवेकशील साझाका नेताहरु आ–आफ््नै बाटो लाग्ने अवस्थामा पुगेका छन् ।

टुटफुटको राजनीतिलाई फोहोरी राजनीतिको संज्ञा दिँदै संस्कारयुक्त राजनीति गर्ने भनेका रवीन्द्र मिश्र र मिलन पाण्डेहरु अहिले त्यही फोहोरी राजनीतिको आहालमा चुर्लुम्म डुबेका छन् । तैपनि भारतको विधानसभामा आम आदमी पार्टीले पाएको सफलता देखेर चाहिँ यीनिहरु यहाँ थुक घुटुघुटु निलिरहेका होलान् । भारतको आम आदमीसँग आफूलाई तुलना गर्दै मनको लड्डु घिउसित खाइरहेका होलान् । अरविन्द केजरीवालले दल खोलेको १० वर्षमा पो त्यो सफलता पाएका हुन् त मैले बिबिसीको जागिर छाडेर साझा पार्टी खोलेको १० वर्ष भएकै छैन, अझै सम्भावना छँदै छ नि भनेर रवीन्द्र मिश्र आत्मरती गरिरहेका होलान् ।

वैकल्पिक शक्तिको दाबी गर्नेहरु रवीन्द्र मिश्र र मिलन पाण्डेहरु मात्रै छैनन् । यो देशमा कमल थापा र राजेन्द्र लिङदेनहरु पनि छन् । यीनीहरुको ड्याङ पनि फरक छैन । गीता छोएर कसम खाने कमल थापा र मन्दिर छिरेर कसम खानेलाई मात्रै आगामी चुनावमा टिकेट दिने भन्ने राजेन्द्र लिङदेनहरुका विषयमा पछि कुरा गरौंला । राजा छाडेका र राजा राजा भन्दै हिँडेका दल र नेताहरुका राजनीतिक भिडियो एक्सरे, एमरआई र अरु अरु रिपोर्टहरु भोलिका दिनमा सार्वजनिक हुँदै जाला । तर, नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुन्छौं भन्नेहरुका लागि भने अहिले जति राम्रो माहोल कहिल्यै तयार नहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार