ललितपुर, ३० फागुन ।
विश्व मृगौला दिवसको अवसरमा किष्ट अस्पताल र नेपाल कला परिषद्का आयोजित सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ग्वार्काे ललितपुरमा पुगेका गृहमन्त्री बालकृष्ण खाँणले चिकित्सकले बिरामीका हरेक अंगमा देखापर्ने समस्या पहिचान गरि उपचार गर्नसक्नु मानव जीवन बचाउने महान कला भएको बताएका छन् ।
चिकित्सकहरुको बिरामीप्रतिको समर्पण भावका कारण नै नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले मानव अंगको महत्वपूर्ण भागको रुपमा रहेको मिर्गाैला प्रत्यारोपण गर्ने कार्यलाई अझ सहज र सरल बनाउन हुलाक टिकट प्रकाशनमा ल्याउने प्रकृयाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मानव अंग प्रत्यारोपणको अभियानमा खटिने सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मीलाई बधाई दिँदै मन्त्री खाँणले अंग प्रत्यारोपणमा देखिएको कानूनी अड्चन संशोधनका लागि आफुले पहल गर्ने बताए ।
मृगौला दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले ल्याएको अंगदान प्रस्ताव मन्त्री परिषद्ले पारित गरिसकेको र स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीबाटै फाराम भराउन शरु गर्ने बताए । शुरुका दिनमा रक्तदान पनि यस्तै कठीन थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले पहिलो पटक रक्तदान गरेपछि सबैलाई प्रोत्साहन मिलेको र सबैले रक्तदान गरेको उल्लेख गर्दै अंगदानका लागि पनि प्रधानमन्त्रीबाटै शुरु गर्दा सबैलाई प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा मन्त्री खाँणले मृगौला प्रत्यारोपणका क्षेत्रमा योगदान गरेका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा दिब्यासिंह शाह, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा.ऋषिकुमार काफ्लेलाई कदरपत्र तथा दोसल्ला र पुष्प गुच्छाद्धारा सम्मान गरे ।
सोही अवसरमा उनले किष्ट अस्पतालमा अंग प्रत्यारोपण गरेका दाताहरुलाई सम्मान स्वरुमा मायाको चिनो र चित्रकलाका सहभागी २० जना कलाकारहरुलाई प्रमाणपत्र तथा किष्ट हेल्थ भौचर प्रदान गरे । सोही अवसरमा नेपाल कला परिषद्लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रा. डा. बालमान सिंह कार्कीको सभापतित्वमा संचालित कार्यक्रममा नेपाल कला परिषदका अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, सम्मानीत व्यक्तित्व प्रा.डा.दिब्या सिंह शाह, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, सासद नवराज लम्साल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्य, कार्यक्रम संचालक एम.बी.बि.एस पाँचौं बर्षमा अध्ययनरत विद्यार्थी अभिप्सा केसी बस्नेतले मृगौलाको महत्व र जनचेतनाको आवश्यकता बारेमा बोलेका थिए ।






