नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा फागुन ६ गते आयोजना गरिएको आसन्न प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित नेपाली कांग्रेसको पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै गौरवान्वित र उत्साहित छौं।
यस महत्वपूर्ण प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा लिएका छौं ।
नेपाली कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । यो अवसरमा मधेशपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधी लगायतका नेताहरुलाई स्मरण गर्न चाहान्छु ।
मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको छ । मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैं प्रतिबद्ध रहँदै आएको छ ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्नुहुन्छ । उहाँ मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो । मधेशको विकास र सम्मानबिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेशको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो ।
आज मधेश केवल भौगोलिक क्षेत्र मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ हो। तर विगतका वर्षहरूमा मधेशले अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान पाउन सकेको छैन। यही यथार्थलाई आत्मसात गर्दै नेपाली कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको “प्रतिज्ञा पत्र” मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरेको हो ।
मधेशबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुको अर्थ स्पष्ट छ—नेपाली कांग्रेस मधेशलाई केवल चुनावी भूगोलका रूपमा हेर्दैन, बरु परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिन्छ । मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्नेछ ।
प्रतिज्ञा सभा मार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्नेछ । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गरिनेछ । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मधेशी जनताको पूर्ण साथ, सहयोग गरी रुख चिन्हमा मतदान गर्न पनि अपिल गर्दछौं ।
मधेशको इतिहासले नेपाली कांग्रेसलाई सधैं साथ दिएको छ । मधेशका किसान, मजदुर, व्यापारी, विद्यार्थी, बुद्धिजीवी तथा युवाहरूले प्रजातन्त्र र संविधानको रक्षाका लागि निरन्तर संघर्ष गरेका छन्। यही ऐतिहासिक योगदानप्रति सम्मान व्यक्त गर्दै हामी यो प्रतिज्ञा सभा मधेशबाट सुरु गर्दैछौं ।
यो सभा केवल नेताहरूको सम्बोधन सुन्ने कार्यक्रम होइन, बरु जनताको आवाज सुन्ने, जनतासँग प्रतिवद्धता व्यक्त गर्ने र भावी यात्राको खाका प्रस्तुत गर्ने साझा मञ्च हो । मधेशको गौरव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशामा यो कार्यक्रम कोसेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।
अन्त्यमा, नेपाली कांग्रेस मधेश प्रदेश समिति सम्पूर्ण शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक, कांग्रेसका अग्रज, युवा साथीहरू, महिला दिदीबहिनीहरू तथा पार्टीका समर्पित कार्यकर्ताहरूलाई फागुन ६ गते जनकपुरधाममा आयोजना हुने यस ऐतिहासिक प्रतिज्ञा सभामा अनिवार्य उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोध गर्दछौं । सभामा करिब एक लाख सहभागी हुने अपेक्षा गरिएको छ ।
मधेशको स्वाभिमान, समृद्धि र समानताको यात्रामा हातेमालो गरौं। लोकतन्त्र सुदृढ गरौं, संघीयता बलियो बनाऔं, र जनताको विश्वासलाई सम्मान गर्दै नयाँ आशा र भरोसाको अध्याय सुरु गरौं ।






