Logo
३० कार्तिक २०८३, सोमबार
|  Mon Nov 16 2026

जनताको विश्वासमा घात गरे अर्को चुनावमा कुन मुख देखाउने ?


लहान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर नजाने बताएका छन् । छठ पर्व मनाउन जनकपुर आएका सभापति लामिछानेले सिरहाको बरियारपट्टीमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

मधेश जहिले पनि परिवर्तनको पक्षमा रहँदै आएको भन्दै उनले सुशासन र समृद्धिका लागि रास्वपाको पक्षमा गरिएको मत खेर जान नदिन सचेत रहेको बताए । “मधेशको समस्या पनि भ्रष्टाचार र कुरीति हो ।

यसको अन्त्यका लागि सरकारले काम थालिसकेको छ । केन्द्र सरकारका हातखुट्टा भनेका स्थानीय र प्रदेश सरकार हुन् । स्थानीय र प्रदेश सरकार बनाउन पनि साथ चाहिएको छ,’ उनले भने, ‘पार्टीमा कुनै मनमुटाव छैन । पार्टी र सरकार सन्तुलित रूपमा अघि बढिरहेका छन् ।’

स्थानीय चुनावमा नेताको वरिपरि रहेर उम्मेदवार बनाइदिने सोच त्यागेर जनताको साथमा काम गर्ने इमानदार र काम गर्न सक्ने क्षमता भएका उम्मेदवार चयनका लागि ‘क्यान्डिडेट क्लब’ खोलिएको उनले बताए ।

मधेशमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक न्यायका लागि सरकारले काम गर्नुपर्ने विषयमा सचेत भएर काम गरिरहेको सभापति लामिछानेले जोड दिए । उनले भने, ‘गफ गरेर समय बर्बाद गर्नुभन्दा काम गरेर देखाउने समय आएको छ । रास्वपाबाट चुनिने जनप्रतिनिधिहरूलाई मालिक बन्नका लागि होइन, सेवक बनेर काम गर्न पार्टीबाट निर्देशन जारी भइरहेको छ ।’

रास्वपालाई विश्वास गरेर पुराना दलको साथ छाडेको उल्लेख गर्दै उनले जनताको विश्वासमा घात भए अर्को चुनावमा कुन मुख देखाएर आउने भन्ने विषयमा रास्वपा गम्भीर रहेको तर्क गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार