काठमाडौँ । नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि एक करोड १७ लाख साठ्ठी हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संस्थाले बाढी पीडितहरूको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई सोमबार हस्तान्तरण गरेको हो । संस्थाका प्रतिनिधिहरूले विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
यस सहयोगले विपद्मा परेका परिवारलाई राहत र पुनस्थापनामा टेवा पुग्ने नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाका पूर्वअध्यक्ष नारायण गुरूङले बताए ।
कार्यक्रममा मन्त्री पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारे । सडक पुल, विद्यालय तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पर्याउन कोषको रकम खर्च भइरहेको उनले बताए ।








