नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा १९ पदाधिकारीको नाम घोषणा गर्दा उनी निकट रहेका महेश बस्नेत पदाधिकारीमा परेनन् ।
महाधिवेशनका लागि चितवन जानु भन्दा दुई दिनअघि बस्नेतले सचिवमा उम्मेद्वारी दिने घोषणा गरेका थिए भने अध्यक्ष ओली उनको घोषणालाई बल पुग्नेगरी युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा सहभागी भएका थिए । साइबर सर्कल घोषणा कार्यक्रममा महेश बस्नेतलाई सचिव बनाउँनुपर्ने भन्दै सहभागीहरुले ब्यापक आवाज उठाउँदा अध्यक्ष ओलीले सो कार्यक्रममा स्वीकारोक्ति भाव सहित अभिवादन गरेका थिए ।
सचिवमा उम्मेद्वारी दिएका बस्नेत ओलीको रोजाईमा पर्ने धेरैको विश्वास थियो । तर, माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिव घोषणा गरेका ओलीले बस्नेतलाई कुनै पनि पदाधिकारीमा ल्याएनन् । ओलीले बस्नेतलाई सचिवमा नल्याउँनुलाई यतिबेला अनौठो रुपमा लिइएको छ । केहीले बस्नेतलाई ओलीले अनुशासन विभागको जिम्मेवारी दिने तयारी गरेको बताएका छन् ।





