नेकपा एमालेको १०औँ महाधिवेशनमा पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा कसैको पनि उम्मेदवारी नपरेपछि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।
अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।
पाँचजना विजय हुने निश्चित भए पनि औपचारिक रुपमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन । यता अध्यक्षको लागि केपी ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन समितिका अनुसार राति ९ बजेपछि मतदान गर्ने कार्यक्रम रहेको छ ।





