नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ ।
महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भइरहेको छ । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । मतदान सकिएको एक घण्टामै मतमरिणम आउने निर्वाचन समितिले जनाएको छ ।





