नेकपा एमाले अध्यक्षका उमेदवार भीम रावलले आफ्नो कति मत आउँछ भन्ने बारेमा अनुसन्धान नगरेको बताएका छन् । मतदान सकिएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू अध्यक्षबाहेक सदस्यको उमेदवार नभएको हुँदा कुनै पनि पदमा नबस्ने बताए । ‘केन्द्रीय सदस्यमा मेरो उमेदवारी नै परेको छैन,’ उनले भने, ‘तर सूचीमा नाम राखिएको छ । यो बारेमा पनि मैले जानकारी पाएको छु ।’
आफ्नो कति मत आउने अनुमान गर्नुभएको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यसबारेमा मैले कुनै अनुसन्धान गरेको छैन, बरु यहाँहरुलाई केही जानकारी छ कि !’
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको जानकारी दिए । मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।