अर्को सातादेखि सुरु हुने सीता राम विवाहपञ्चमीको तयारी अन्तिम चरणमा पुगेको छ । जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासका अनुसार यसवर्ष सीता राम विवाहपञ्चमीमा भारत (अयोध्या)बाट करिब पाँचलाख जन्ती आउने उनको दाबी छ ।
अयोध्यामा हामीले निमन्त्रणा गरेका थियौं । उताबाट आएको जानकारीअनुसार विभिन्न साधुसन्तसहित करिब पाँचलाख जन्ती आउने भनेका छन् । राजनीतिक व्यक्तिलाई हामीले निमन्त्रणा गरेका छैनौँ । स्वेच्छाले आउने व्यक्तिलाई हामीले रोक्न सक्दैनौं ।
यसवर्ष सीताराम विवाह पञ्चमीमा करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । तीनै तहका सरकारमध्ये यसवर्ष कसैले पनि विवाहपञ्चमी मनाउन आर्थिक सहयोग नगरेको महन्थ रोसन दासले गुनासो गरे ।
जानकी मन्दिरको आन्तरिक स्रोत र विभिन्न शुभेच्छुक दाताबाट विवाह पञ्चमी मनाउने मन्दिरको तयारी छ । जानकी मन्दिरको प्राङ्गणमा सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । मंसिर १७ गते नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा विधि गरी विवाहपञ्चमी सम्पन्न हुने तालिका रहेको छ ।