आफ्नै सौताका १० वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको आरोपमा एक महिलालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ घर भई हाल कैलाली धनगढी उपमहानगरपालिका-२ मालिका टोलस्थित रोहिणीप्रसाद जोशीको घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो । रोकायाले आफ्नी सौता निर्मला थापामगरका छोरा निशान्त थापामगरलाई विषादी खुवाई हत्या गरेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने निशान्तलाई उनले मंसिर २ गते विष खुवाई आफ्ना २ बच्चासहित सम्पर्कविहीन बनेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मागीका श्रीमान बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले बुझ्नलाई डेरा गरी बस्ने कोठामा पठाएका थिए ।
डेरा कोठा पुग्दा कोठाको अगाडिको मूल ढोका बन्द भई पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठाभित्र पंखा चालू अवस्थामा रहेको, कोठाभित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र अन्य मानिसहरू उक्त डेरा कोठामा कोही नभएको भनी उनीहरूका आफन्तबाट प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको बताइएको छ ।
प्रहरीले तत्काल घटनास्थलमा सो डेरा कोठाभित्र हेर्दा मागी रोकायासँगै बस्ने गरेका निशान्त मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए । प्रहरीले तत्काल भारतीय प्रहरीको सहयोगमा खोजी कार्य थालेको थियो ।
उनलाई मंसिर १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याइएको प्रहरीले बताएको छ ।





