Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

‘अब राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि अभियान अघि बढाउँछु’


नवनिर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आजदेखि पार्टी एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन्। मत परिणाम सार्वजनिक भइसकेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अब राजसंस्था र हिन्दूराष्ट्रको नारा अघि सारेर शासकीय प्रणालीमा राष्ट्रप्रमुखका रुपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधानमन्त्रीय प्रणालीका लागि राप्रपाले अभियान अघि बढाउने उनले बताए।

नेतृत्व परिवर्तनका अनेकौं आयाम र उपलब्धिभित्र हिजोका दिनसम्म अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता र मान्छे भएर जाने गरिए पनि आजबाट सबै राप्रपाका मानिस भएर जाने उनले बताए। ‘आजबाट कुनै गुट छैन कोही कसैको मानिस होइन सबै राप्रपा हुन्। हामी व्यवहारत: पनि त्यसै हिसाबले अघि जान्छौं,’ उनले भने, ‘राप्रपाका तमाम नेता कार्यकर्ताको शिर झुकाउने कुनै काम हुन दिइने छैन।’

आफूहरुले नेतृत्व परिवर्तनका लागि उम्मेदवारी दिएको र त्यसमा सफलता हासिल भएको उनले बताए। ‘२०४६ यता नेपालको पुस्तान्तरण नगरी, विस्थापित नगरिकन राजनीति सुधार हुँदैन भन्ने ठूलो पार्टीका पुस्तान्तरणका कुरा गर्नेहरुलाई पनि राप्रपाले नेतृत्व लिएर सन्देश दिएको छ,’ उनले भने, ‘यो आन्तरिक चुनाव हो कुनै प्रकारको विजय जुलुस र जिन्दावादका नाराह लगाइरहनु आवश्यक छैन।’

नयाँ राप्रपा निर्माणका लागि जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले अब परिणाम आफूले देखाउने बताए।


प्रतिक्रिया दिनुहोस !
विचार