सर्वोच्च अदालतमा आजका लागि १० इजलास तोकिएको छ। गोला प्रक्रियाबाट नौ संयुक्त र एक एकलसहित १० इजलासमा आजका लागि ३३६ मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।
आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि भने कुनै इजलास तोकिएको छैन । कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएका जबरा शुक्रबार डिस्चार्ज भएका थिए।
अस्पताल बसेर अदालत चलाएको आरोप लागेपछि पूर्ण स्वास्थ्यलाभ नहुँदै प्रधानन्यायाधीश जबरा डिस्चार्ज भएका थिए ।
यता प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित बहस पैरवी गर्ने भएका छन्। प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ। यद्देपी उनीहरुले जबराविरुद्ध आन्दोलनका कार्यक्रमलाई भने जारी राख्ने बताएका छन्।





