पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका संस्थापन र इतर समूह आआफ्ना उम्मेदवारी तय गर्न सक्रिय भएका छन्। उम्मेदवारको नाम निश्चित गर्न आज दुवै पक्षले आआफ्ना बैठक राख्दै छन्। सभापति शेरबहादुर देउवाले अहिले बिहान ९ बजे आफ्नै निजी निवास बूढानीलकण्ठमा आफूपक्षीय नेताहरूको बैठक राख्दै छन् भने संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आफ्ना तर्फबाट सभापति पदको साझा उम्मेदवार तय गर्न साढे ९ बजे बत्तीसपुतलीमा जुट्दै छन् ।
पदाधिकारीका उम्मेदवारबारे छलफल गर्न भन्दै देउवाले आफूनिकटका नेतालाई छलफलमा बोलाएका हुन् । आजै आफ्नो प्यानलको घोषणा गर्ने देउवाको तयारी छ ।
पौडेल पक्षबाट सभापतिका आकांक्षीबीच मंगलबार सहमति खोज्न बसेको बैठक टुंगोमा नपुगेपछि पुनः आज बिहान बस्न लागेको हो। पौडेल पक्षतर्फ चार जना रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह सभापति पदका दाबेदार छन्। स्रोतका अनुसार पौडेलकलाई नै साझा उम्मेद्वार बनाउने यो समूहको तयारी छ ।
यता संस्थापन पक्षतर्फ पनि सभापति पदको उम्मेदवारीमा देउवासँगै उपसभापति विमलेन्द्र निधिले पनि दाबी गरिरहेका छन् भने अन्य पदका आकांक्षीको संख्या पनि धेरै छ। दुबै समूहलाई आकांक्षीको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।





