विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमिक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने ।
तर, तीव्र फैलिन्छ भनेर निस्कर्षमा पुग्नुअघि अझै बढी तथ्यांक अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनको लक्षणबारे प्रष्ट तथ्यांक उपलब्ध गराउनसमेत प्रभावित देशहरुलाई उनले अनुरोध गरे ।
दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरुले सीमामा कडाई गर्नुका साथै विभिन्न प्रतिबन्धातात्मक व्यवस्था लागू गरेका छन् । भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।





