भारतका रक्षा प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयाे । बुधबार उनीसहित १४ जना चढेको विमान भारतको तामिलनाडुमा दुर्घटनामा परेको हो। विमानमा सवार १३ जनाको मृत्यु भएको छ।
भारतीय अखबार द हिन्दूका अनुसार रावतको लागि तामिलनाडु पुलिसले उच्च सुरक्षा ‘जेड प्लस’ व्यवस्था गरेको थियो। रुसमा बनेको एमआई–१७भी५ मोडलको विमान ठूलो उचाइ र राहत उद्धार कार्यमा प्रयोग गरिने गरिएको थियो।
रावत भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टरमा तामिलनाडुको वेलिंटनमा डिफेन्स सर्भिस स्टाफ कलेजतर्फ प्रस्थान गरेका थिए। अखबारका अनुसार एक प्रहरीले भने, ‘हामीलाई जनरल रावतको गाडीको सडकको सुरक्षा व्यवस्थाको जिम्मा दिइएको थियो।’
रावत चढेको हेलिकप्टर दुर्घटना भएको स्थलभन्दा केवल १० किलोमिटरको दूरीमा वेलिंटनमा हेलिप्याड थियो। सोही हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्नुपर्ने थियो। हेलिकप्टर दुर्घटना हुँदै गरेको देखेका प्रहरी र प्रत्यक्षदर्शीका अनुसार मौसम सफा थियो र बादल लागेको पनि थिएन।
अखबारसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘मैले देख्दा हेलिकप्टर निकै कम उचाइमा उडिरहेको थियो। अचानक यो मोडियो र एउटा रुखमा ठोक्कियो। त्यसपछि ठूलो विष्फोट भयो। हेलिकप्टर दुर्घटना हुँदा मौसम सफा थियो।’ हेलिकप्टर किन यति कम उचाइमा उडिरहेको थियोरु पाइलटलाई एयर ट्राफिक कन्ट्रोल वा आर्मी कन्ट्रोलले मौसमबारे कुनै अलर्ट जारी गरेका थिए भन्ने प्रश्नमा तामिलनाडुको प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।





