सत्तारुढ दल नेपाली कांग्रेसले आजबाट केन्द्रीय महाधिवेशन गर्दैछ । पार्टीले १४ औं महाधिवेशन अन्तर्गत १८ साउन वडा अधिवेशन सुरु गरेको थियो । सोही क्रममा आजबाट काठमाडौंको भृकुटिमण्डपमा कांग्रेसले १४ औं महाधिवेशनको उद्घाटन गर्न लागेको हो ।
महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वाप्रकाश शर्माले जानकारी दिए । ‘उत्साहा एकता रुपान्तरण, सफल बनाउ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मुल नाराका साथ महाधिवेशन सुरु हुँदैछ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ ।
महाधिवेशन सम्पन्न भएपश्चात् कांग्रेस पार्टी संघीय संरचनामा ढल्किने छ । यो महाधिवशेनबाट पार्टीको १६९ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमा पदाधीकारी सम्पूर्ण पद प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ ।
पार्टीको १३ औं महाधिवेशनको तुलनामा पार्टी पदाधीकारीको संख्या बढाइएको छ । यसअघि पार्टीमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन हुने प्रावधान थियो । उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्रीको मनोनय गर्ने अधिकार पार्टी सभापतिलाई थियो । तर, यो महाधिवेशनबाट सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री पदमा प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ ।
महाधिवेशनमा देशभरबाट चार हजार ३९५ महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे प्रकाशन गर्ने निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । यस्तै सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनय दर्ता उपर दाबी विरोध र जाँचबुझ गर्ने निर्वाचन तालिका रहेको छ ।
निर्वाचन समितिले २५ गते बेलुकी ७ देखि ९ बजेको समयलाई दाबी विरोध उपर निर्णय गर्ने समय छुट्टाएको छ । सोही दिन ९ देखि १२ बजेभित्र उमेदवारको पहिलो नामावली प्रकाशन हुनेछ ।
उमेदवारहरुले मनोनय फिर्ता लिनु परे २६ गते बिहान ११ बजेसम्मको समय निर्धारण समितिले गरेको छ । सोही दिन मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।





