Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस महाधिवेशनमा आज मनोनयन दर्ता हुने, कुन उम्मेद्वारलाई कति शुल्क ?


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ। सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।

कांग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ। नीति अधिवेशन भने छुट्टै गर्ने जानकारी दिएको छ। यसअघि शुक्रबार नै सुरु भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्। भृकुटीमण्डपमा शुक्रबार उद्‍घाटन भएको महाधिवेशनको बन्दसत्र राष्ट्रिय सभा गृहमा चलिरहेको छ। महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन्।

नेपाली कांग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ। सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ। ‘सभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ। सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ।’ उनले भने।


प्रतिक्रिया दिनुहोस !
विचार