१३ औं महाधिवेशनपछि देउवाको अत्यन्तै निकट रहेर काम गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई देउवाले १४ औं महाधिवेशनमा आइपुग्दा अझ ठूलो जिम्मेवारी दिने अपेक्षा गरिएको थियो । प्रवक्ता शर्मा महामन्त्रीको स्वभाविक दाबेदार थिए । उनलाई देउवाले आफ्नो प्यानलबाट पक्कै पनि महामन्त्रीको उम्मेदवार बनाउँछन् भन्ने अपेक्षा थियो । शर्माले पनि देउवको निकट रहेर काम गरिरहँदा अन्तिम समयमा देउवाबाट धोका पाइन्छ भन्ने अनुमान पक्कै गरेका थिएनन् । त्यही भएर हुनुपर्छ महाधिवेशन आउनुभन्दा निकै अगाडि शर्माले विपी संग्रहालय सुन्दरीजल पुगेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।
शर्माले देउवासँगको सल्लाहमै महामन्त्रीमा उतिबेलै उम्मेदवारी घोषणा गरेको कांग्रेस वृत्तमा चर्चा थियो । तर, देउवाले अन्तिम समयमा विश्वप्रकाश शर्मालाई भन्दा प्रदीप पौडेललाई महत्व दिए । कृष्णप्रसाद सिटौला खेमाका प्रदीप पौडेलले देउवा गुटमा इन्ट्री पाइरहँदा विश्वप्रकाश शर्मा भने देउवाको रोजाईमा परेनन् । प्रदीप पौडेललाई महामन्त्री दिने हो भने सभापतिमा देउवालाई समर्थन गर्न सकिने कृष्णप्रसाद सिटौलाको प्रस्तावसँगै देउवा लोभिए । अघिल्लो पटक सभापतिमा आफूसँगै प्रतिष्पर्धा गरेका सिटौला आफ्नो क्याम्पमा आउँछन् भने विश्वप्रकाशलाई गुमाउनु कुन ठूलो कुरा भयो र भन्ने देउवा नजिकका मान्छेको सुझावले देउवा हौसिएको कांग्रेस वृत्तमा चर्चा छ । सिटौला टिमलाई आफ्नो क्याम्पमा तानिरहँदा देउवाले विश्वप्रकाशलाई महाधिवेशनपछि फेरि प्रवक्ताको जिम्मेवारी दिने आश्वासन दिएपनि शर्माले त्यसमा सहमति जनाएनन् ।
आफूले निकै पहिले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरिसकेका कारण त्यसबाट पछि हटन् नसक्ने जवाफ देउवालाई दिँदै उनी प्रकाशमान सिंहको प्यानलमा पुगे । प्रकाशनमान सिंहको प्यानलमा पुग्नुअघि विश्वप्रकाशले डा.शेखर कोइरालको टीमममा रहने प्रयास नगरेका होइनन् । तर, गगन थापा र डा.मिनेन्द्र रिजालले यसअघि नै शेखर कोइरालाको टिम बुकिङ गरिसकेका कारण शर्मा केही लागेन । र, अन्तिममा उनले प्रकाशमान सिंहकै टिमबाट महामन्त्री लड्ने घोषणा गरे ।





