राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्। गत महाधिवेशनमा आफू पराजित भएपछि पूर्व राजा ज्ञानेन्द्र नै आफूलाई हराउन लागिपरेको प्रतिक्रिया दिएका थापाले सोमबार अध्यक्ष लिङ्देनलाई लेखेको पत्रमा राजाबाट विगतमा जस्तै प्रजातन्त्र मास्ने काम हुने भएकाले पार्टीको धारणा प्रष्ट गर्न आग्रह गरिएको छ।
‘राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ थापाले लिङ्देनलाई लेखेको पत्रमा भनिएको छ। देश गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर राजतन्त्रको झण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति आफूलाई त कोपभाजन पारी हराइएको थापाको आरोप छ। पूर्वराजाको निवासबाट कोही पनि सुरक्षित नभएको भन्दै लिङ्देनलाई सिकार बनाउने उनको भनाइ छ।
‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन। तपाई पनि हुनुहुन्न। तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु। तर, ढिलो चाँडो तपाई यो प्रवृत्तिको अवश्य शिकार हुनुहुनेछ ।





