नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। ३१८१ भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्।
हाल देउवाले १५०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ११६४ मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २५४, विमलेन्द्र निधिको १९० तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १६ मत पाएका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ। मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले बताएका थिए।
सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ। मतदान दोस्रो चरणमा गएमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने इतरपक्षको तयारी छ ।





