Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कहाँ चुके देउवा ? यसरी बिग्रियो हिसाबकिताब


अत्यन्तै थोरै मतले मात्रै नेपाली कांग्रेसको सभापतिमा विजयी हुन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिबेला दाँतमा ढुंगा लागे झैं भएको छ । जम्मा ८२ मत मात्रै बढाउन सकेको भए शेरबहादुर देउवा पहिलो चरणको मतदानबाटै नेपाली कांग्रेसको सभापतिमा दोहोरिन्थे । कुल खसेको मत मध्ये २३४० मत ल्याउनुपर्नेमा देउवाले २२५८ मत प्राप्त गरे । जुन जितका लागि ८२ मतले कमी हो ।
अब दोस्रो चरणको मतदानमा प्रवेश गर्दै गर्दा शेरबहादुर देउवाका लागि सजिलो छैन । सभापति पदका लागि डा. शेखर कोइराला र देउवाका बीचमा दोस्रो चरणको प्रतिष्पर्धा हुँदैछ । देउवाले कुनैबेला आफ्नै खेमामा रहेका विमलेन्द्र निधीलाई आफ्नो पक्षमा जोगाइरहन नसक्नु नै उनका लागि दुर्भाग्य बन्यो । विमलेन्द्र निधिलाई आफ्नो पक्षमा देउवाले जोगाइरहन सकेको भए देउवाको जित सुनिश्चित थियो । निधिले पहिलो चरणको मतदानमा २३९ मत ल्याए जुन मत देउवाले प्राप्त गरेको २२५८ मा जोडिँदा २४९७ हुन्थ्यो । जबकि सभापतिमा जित्नका लागि यसपटक २३४० मत मात्रै भए पुग्थ्यो ।
रामचन्द्र पौडेल खेमामा रहेर पनि बिच्किएका प्रकाशमान सिंहलाई आफूतिर देउवाले शुरुमै तान्न सकेको भएपनि उनको जित सुनिश्चत थियो । सिंहले ३६० मत प्राप्त गरे जुन त्यति धेरै मत नभएपनि देउवाको जितका लागि पर्याप्त हुन्थ्यो । कुनैबेला नेपाली कांग्रेस प्रजातान्त्रिकमा रहेर देउवाको बलियो खम्बाका रुपमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मध्ये एकलाई मात्रै आफ्नो पक्षमा तान्न सकेको भए देउवा दोस्रोपटक सभापतिमा दोहोरिन्थे । तर, पहिलो चरणमा ८२ मतको कमीले देउवा सभापति बन्नबाट तत्कालका लागि रोकिए । अब दोस्रो चरणको मतदान हुँदै गर्दा देउवाको ग्रह बलियो रहेछ भने बेग्लै कुरा नत्र उनका लागि दोस्रो चरणको मतदान फलामको चिउरा चपाए सरह हुनेछ । प्रकाशमान सिंह विमलेन्द्र निधि लगायतका नेताहरु देउवाका लागि अब निर्णायक हुनेछन् । उनीहरुको समर्थन जता रहन्छ सभापति उसैले जित्ने प्रबल सम्भावना छ । यद्यपि देउवालाई दोस्रो चरणमा पनि कम आँक्न भने मिल्दैन । बाँकी सबै एकातिर र देउवा अर्कातिर हुँदा पनि कडा प्रतिष्पर्धा भने हुनेछ ।
सभापतिमा देउवाले हारे भने राजनीतिक जीवनको उतरार्धमा उनको राजनीतिक अवसान पनि निश्चित जस्तै छ । सभापतिमा हारेको खण्डमा प्रधानमन्त्रीबाट कम्युनिष्ट शक्तिले हटाउँने कुरा उनले यसअघि नै सार्वजनिक गरिसकेका छन् । १३ औं महाधिवेशनमा आफ्ना प्रतिष्पर्धी रहेका कृष्ण सिटौलालाई यसपटक आफ्नो खेमामा ल्याउन सफल भएपनि देउवाले त्यत्तिलाई मात्रै ठूलो बहादुरी ठान्नु उनको भुल देखियो । हुन त सिटौला मार्फत नै देउवाले सभापतिमा आफूले हारे कांग्रेसका लागि ठूलो क्षती हुने बताएका थिए ।
देउवाले सभापतिमा हार्दा कांग्रेसलाई ठूलो क्षती हुने कृष्ण सिटौलाले बताएका छन् । तर, सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सिटौलाको यही बोली सम्झिएर मतदाताले देउवालाई मत देलान् या नदेलान् त्यसका लागि भने केही घण्टा कुर्नैैपर्ने देखिएको छ ।
पहिलो चरणको मतदानमा सभापतिका प्रतिष्पर्धीहरुले जति मत प्राप्त गरे त्यो मतको मिहिन ढंगले अंकगणीतिय हिसाबकिताब गर्ने हो भने दोस्रो चरणको नतिजाको पूर्वानुमान भने गर्न सकिन्छ ।
दोस्रो चरणको मतदान अब थप रोचक हुने देखिएको छ । देउवा र डा. शेखर कोइरालाका बीचमा कडा प्रतिष्पर्धा निश्चित छ । अरु सबै देउवा हराउ अभियानमा लागे भनेपनि चुनाव जित्नका लागि राजनीतिका चतुर खेलाडी देउवाका अनेक दाउ हुन सक्छन् । जितका लागि जे गर्न पनि पछि नपर्ने देउवाको विगत हेर्दा यसपटक जम्मा ८२ मत थप्न देउवाले लगाउँने अनेक जुक्तिको केही पूर्वानुमान गर्न सकिएपनि ठ्याक्कै भन्न भने कठिन छ । तर, सुरा सुन्दरी काण्डदेखि प्राडो पजेरो काण्डका डिजाइनर देउवाको दिमागमा यी र यस्तै कुनै नयाँ आइडिया नफुर्ला भन्न भने सकन्निँ ।


प्रतिक्रिया दिनुहोस !
विचार