Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

फेरि देउवाको हातबाट संसद विघटन !


सर्वोच्चको परमादेशपछि संविधानको धारा ७६ (५) अनुसार प्रधानन्त्री बन्न लागेका शेरबहादुर देउवाको हातबाटै संसद भंग त हुने होइन भन्ने आशंका उब्जिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएपनि देउवाले एमालेको माधव नेपाल पक्षले सहयोग नगरे विश्वासको मत पाउने सम्भावना देखिदैन ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउँनका लागि हस्ताक्षर गरेको एमालेको माधवकुमार नेपाल पक्षले अब संस्थागत निर्णय अनुसार नै चल्ने जानकारी देउवालाई गराएको छ । यसको अर्थ एमाले पार्टीले विश्वासको मत दिने निर्णय गरेमा देउवाले विश्वासको मत पाउँनेछन् भने पार्टीले विश्वासको मत नदिने निर्णय गरेमा देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने छैन ।
यता जसपाको महन्थ ठाकुर पक्ष देउवासँग यसअघि नै रुष्ट रहेका कारण त्यो पक्षले देउवालाई विश्वासको मत दिने सम्भावना न्यून रहेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको सामथ्र्यले मात्रै देउवाले विश्वासको मत पाउन सक्दैनन् ।
३० दिनभित्र विश्वासको मत पाउन नसके देउवालाई प्रधानमन्त्री पदमा रहने नैतिक तथा संवैधानिक अधिकार रहँदैन । धारा ७६ (५) अनुसार बनेको प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउँन नसके संसद भंग हुने संवैधानिक व्यवस्था रहेका कारण त्यो अवस्थामा संसद भंग देउवाकै हातबाट हुने सम्भावना रहेको संविधानका जानकारहरु बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार