Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पैसा र सरकारको शक्ति प्रयोग गरेर देउवाले चुनाव जिते:चन्द्र भण्डारी


नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार बनेका डा चन्द्र भण्डारीले महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेको आरोप लगाएका छन् । महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले आयोजना गरेको धन्यवाद ज्ञापन सभालाई सम्बोधन गर्दै भण्डारीले भने, ‘शक्तिको लागि पद र पद प्राप्त गर्न रंगमञ्चमा पैसाले ठूलो काम गर्दो रहेछ । यो सरकार हुँदैनथ्यो, सरकारको दुरूपयोग हुँदैनथ्यो, मनी, मसलको प्रयोग हुँदैनथ्यो भने हामीले जितिसकेका हुने थियौँ ।’

भण्डारीले नयाँ प्रविधिसहित जानेको नयाँ डाक्टर र पुरानो गरी दुई डाक्टरको उदाहरण दिँदै भने, ‘बिरामी नयाँ डाक्टरकोमा जानै मान्दैन । पुरानो डाक्टरको हात काँप्छ अप्रेशन गर्दा प्यारालाइसिस हुने डर छ । तर, बिरामी उतै जान चाहन्छ । मेरो पार्टीभित्रको बिरामी साथीहरू बोली नबुझिए पनि उतै जान्छन् । अब मेरो क्लिनिक भने १५ औं महाधिवेशनसम्म चलाइराख्न आवश्यक भयो ।’

पार्टीमा आदर्श मानिएका व्यक्तिहरू पनि सत्ता र शक्तिका निम्ति ढलेको उनले बताए । भण्डारीले भने, ‘सत्ता र शक्तिका निम्ति कति ठूलो परिवारका खम्बाहरू ढल्दा रहेछन् हात हल्लाएको देख्नुभएकै छ । तर, पन्ध्रौँ अधिवेशनको नेतृत्व गर्ने जिल यही हलभित्र छ । यो हलले विचारको नेतृत्व गरेको छ र विचारले जितेको छ । निष्ठावान कांग्रेसले जितेको छ ।’

आगामी दिनमा शेखर कोइराला समूहको बाटो नरोकिने उनले बताए । ‘हाम्रो बाटो अब रोकिँदैन । हाम्रा पैतलाहरू पछाडि फर्किँदैन । हाम्रा दृष्टिकोण पछाडि फर्किँदैनन्,’ भण्डारीले भने, ‘हामीले मानेका आदरसम्मान गरेका मान्छेहरूलाई पनि तपाईं हामीले चिन्ने मौका पायौं ।’


प्रतिक्रिया दिनुहोस !
विचार