नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।
महाधिवेशनबाट प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् । यसैगरी दुई उपसभापति पदको मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
महामन्त्रीको मतगणना गर्दै गर्दा देउवा र शेखर प्यानलका सदस्यबीच प्रतिष्पर्धा हुने देखिएको छ । देउवा प्यानलबाट पाैडेल र महत उम्मेद्वार रहेका छन् । शेखर समूहबाट थापा र रिजाल उम्मेद्वार छन् । सभापति र उपसभापतिको मतपरिणाम हेदा यीनै चार मध्ये दुईजना महामन्त्रीमा विजयी हुने सम्भावना देखिन्छ ।





