नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन्।
हिजो पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड अस्थिरताको पर्याय भएको र २०६० साल तिर तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए। त्यसको खण्डन गर्दै प्रचण्डले ओलीलाई यस्तो चुनौति दिएका हुन्।
प्रचण्डको विज्ञप्तीमा भनिएको छ- ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्।’
प्रचण्डले विज्ञप्तिमार्फत नै पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न ओलीलाई चुनौती दिएका छन् । पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पारेका छन् ।






