Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

२१३ जनाले लाइसेन्सको परीक्षा दिँदा २३७ जना पास !


सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ ।सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो । कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।

हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ । यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् ।सबैभन्दा रोचक कुरा त के भने केही साताअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सका लागि २१३ जनाको परीक्षा लिँदा २३७ जना उत्तीर्ण भए ।

लाइसेन्सको परीक्षामा शतप्रतिशत पास हुनु त अचम्मको कुरा हो भने यहाँ त परीक्षा दिएका भन्दा बढी उत्तीर्ण भएपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हुँदै आएको अनियमितता र लाइसेन्स बेचबिखनको पर्दाफास भयो ।

ट्रायल (परीक्षा) दिएका भन्दा बढी कसरी उत्तीर्ण भए त ? ट्रायलमै सहभागी नभएकासँग १ लाख ५० हजार रुपैयाँसम्म लिएर हेभी इक्विपमेन्टको लाइसेन्स बिक्री गरेको भन्दै लुम्बिनी प्रदेशको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा उजुरी परेको छ । उजुरी आएपछि मन्त्रालयका तत्कालीन सचिव कुमारप्रसाद दाहालले ‘एक्सन’ लिए । उजुरीमा लगाइएको आरोपका सम्बन्धमा छानबिन शुरू भयो । मन्त्रालयले दुईपटकसम्म यातायात व्यवस्था कार्यालय लुम्बिनी लाइसेन्सलाई पत्राचार गरेको थियो । तर, दुर्भाग्य १ सचिव दाहालको निर्धारित समयागावै काज फिर्ता भयो ।

‘लाइसेन्समा सबै कर्मचारीको मिलेमतोमा बदमासी भइरहेको छ,’ दाहालले  भने, ‘यादवसहित सबै मिलेर व्यापक पैसा उठाएर परीक्षामै सहभागी नभएकाहरूलाई पनि लाइसेन्स बिक्री गरेका छन् । मैले केही सुधार गर्न थाल्छु भनेको उल्टै सरुवा गराइयो ।’

दाहालले थपे, ‘मलाई त केही दुःख छैन, यो विषय बाहिर ल्याएँ । म अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छु । यस्तो प्रवृत्ति चेञ्ज नभएसँग देशमा सुधार कहिल्यै हुँदैन ।’ अहिले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा गृह मन्त्रालयबाट सह–सचिव दीपकराज नेपाल सचिव भएर आएका छन् । दाहाल मन्त्रालयको जिम्मेवारीमा आउनुअघि मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा नै लाइसेन्स वितरणमा हुने गरेको अनियमितताबारे पहिलेदेखि नै जानकार थिए ।

यादवकै दबाबमा दाहाललाई मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाइएको कार्यालयकै कर्मचारीहरू बताउँछन् । यादव यसअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए ।यादवले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आफू अनुकूलका कर्मचारीलाई राखेका छन् । ती कर्मचारी अहिले लाइसेन्स फाँटमा कार्यरत रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार