प्रधानमन्त्रीमा सपथ लिएपछि शेरबहादुर देउवालाई सपथ स्थलमा पहिलो बधाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दिए । मन्त्रीहरुको समेत सपथ सकिएपछि प्रधानमन्त्रीलाई बधाई दिनका लागि नेपाल देउवा रहेको मञ्चमा उक्लिए ।
मुस्कुराउँदै देउवा नजिक पुगेपछि नेपालले हात अघि बढाए । तर, देउवाले हात मिलाउँ कि नमिलाउँ झै गरे । नेपाल अझ अघि सरेर हात दिएपछि देउवाले हात मिलाए । तर, नेपालपछि मञ्चमा उक्लिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले देउवासँग हात नमिलाई नमस्कार मात्रै गरेर बधाई दिए ।
कोरोना महामारीका कारण अन्य नेताहरुले हात नमिलाएको धेरैले अनुमान गरे । त्यसो त राष्ट्रपति कार्यालयका अधिकारीले प्रधानमन्त्रीलाई बधाई दिँदा भौतिक दूरी कायम राख्नका लागि माइकबाटै आग्रह गरेका थिए । तर, आग्रहका बाबजुत पनि माधव नेपालले प्रधानमन्त्री देउवासँग हात मिलाए । प्रधानमन्त्रीसँग हात मिलाएका नेपालले प्रधानमन्त्रीलाई केही भने जस्तो देखिन्थ्यो । हात मिलाएर अघि बढिसकेका नेपालले फेरि फर्किएर प्रधानमन्त्री देउवालाई केही भने । नेपालको शारीरिक हाउभाउ र हातको इशारा हेर्दा केही कुरा छोडिदिनुस् भने जस्तो देखिन्थ्यो । नेपालले देउवातिर फर्किएर पर्दैन भन्ने शैलीमा हात हल्लाएका थिए ।
प्रधानमन्त्रीको सपथ लिएपछि देउवालाई बधाई दिने र हात मिलाउँने पहिलो व्यक्ति माधव नेपाल नै बनेको भन्दै एमालेको ओली पक्षधरले भने सामाजिक सञ्जालमा नेपालप्रति व्यंग्य गरेको छ ।