एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् ।
देउवा केहीबेरअघि नेपाल निवास कोटेश्वर पुगेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने दबाबमा रहेका देउवाले आफूलाई सहयोग गर्न माधव नेपाल समक्ष आग्रह गरेको बुझिएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार माधव नेपालले विश्वासको मत दिने या नदिने भन्ने विषयमा अन्य नेताहरुसँगको छलफलपछि मात्रै केही भन्न सक्ने बताएका छन् । संसद पुनःस्थापना भएसँगै विपक्षी गठबन्धनबाट बाहिरिएको घोषणा गरेका नेपाल मंगलबार प्रधानमन्त्री देउवाको सपथ कार्यक्रममा सहभागी भएका थिए । यता प्रधानमन्त्रीको सपथ कार्यक्रममा सहभागी भएको विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालको चर्को आलोचना गरेका छन् ।