गैरदलित केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी फेला परेका छन्। प्रहरीका अनुसार हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिँडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हो।
हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएका थिए। त्यसपछि रमिलाको परिवारले २९ गते राति आफ्नी छोरी खोसेर लगेका थिए। चन्द्रे भने त्यही दिनदेखि बेपत्ता थिए।
चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। यसैकारण रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।





