सरकारले विदेश जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको छ । सरकारले सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने जनाइएको छ ।
टेकु खोप महाशाखाका प्रमुख सागर दाहालका अनुसार यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ । जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुने भएकाले विदेश जानेले यही खोप खोज्ने गरेका छन् ।
गएको बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप २१ लाख ७६ हजार ६५० मात्रा ल्याएपछि ती अस्पतालबाट खोप दिन थालिएको हो ।





