कुनैबेला पार्टी विभाजनका लागि सजिलो हुनेगरी आफैंले अध्यादेश ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिल्यै त्यस्तै प्रकारको अध्यादेश सरकारले ल्याउन सक्ने भन्दै भयभित भएका छन् ।
शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद छोटो समय चलाएर सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेका हुन् । अध्यादेश ल्याएर एमाले फुटाउने षड्यन्त्र बुन्न थालिएको बताउँदै उनले त्यसका विरुद्ध एकजुट हुन सबै सांसदहरुलाई निर्देशन दिए ।
एमालेको माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजनका लागि सजिलो पार्नेगरी अध्यादेश ल्याउन सक्ने उनको आंशका रहेको छ । संसदीय दल र केन्द्रीय समितिका थोरै सदस्यले पनि पार्टी विभाजन गर्न सक्नेगरी सरकारले अध्यादेश ल्याउने सम्भावना रहेको बताउँदै उनले सरकारका गलत कामको भण्डाफोर गर्न तत्कालै जनतामाझ जानुपर्नेमा जोड दिए ।
अदालतले गलत फैसला गरेको बताउँदै आएका ओलीले अदालतको फैसलाको भण्डाफोर गर्नका लागि जिल्ला जिल्लामा जान समेत एमाले सांसदहरुलाई निर्देशन दिए ।