Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

हिउँमा फसेका १४ मजदुर हप्ता दिनदेखि उद्धारको पर्खाइमा


सडक निर्माणमा खटिएका १४ जना कामदारहरु एक हप्तादेखि हिउँमा फसेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका हुन् ।

गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका कामदारहरु गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनीहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् । वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरु काम गर्ने ठाउँमै फसेको भनेर हिजो मात्रै खबर आएको थियो ।

हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिनदेखि ओढारमा बसिरहेका छन् । हप्ता दिनसम्म उनीहरुको साथमा रहेको खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आइतवार बेलुका मात्रै खबर आएकाले उनीहरुको उद्धारको पहल भइरहेको जानकारी दिए। हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन आग्रह गरिएको र आजै उद्धार हुने प्रजिअ बास्कोटाले बताए ।

सुरुमा हिउँ पग्लेला र जाउँला भनेर खबर नगरेको र पछि बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा बसेको सूचना आएको प्रजिअको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार