साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल प्रहरीले दुबईबाट काठमाडौं ल्याएको छ । इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका उप्रेतीलाई आज काठमाडौं ल्याइएको हो ।उप्रेतीलाई दुबईमै पक्राउ गरिएको हो भन्ने नदेखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको वयान दाबी प्रहरीले गरेको छ । गौशला प्रहरी वृत्तमा राखिएका उनलाई आज विराटनगर पठाउने तयारी गरिएको छ । उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गर्ने तयारी छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ घर भइ दुबई बस्दै आएका रमेश उप्रेती ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् । उक्त प्रकरणका मूख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीका भाइ रमेशले दुबईमा बसेर नेपालमा सुन पठाउने गरेको दाबी छानविन समितिको प्रतिवेदनमा गरिएको छ ।
सुन तस्करी काण्डका अन्य अभियुक्तहरूले सफाई पाएको बेला प्रहरीले गोरेका भाइलाई दुबईबाट नेपाल ल्याएपछि थप तथ्य सार्वजनिक हुने विश्वास गरिएको छ । ।





