नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावललाई भेट्न उनको घरमै गएका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयलाई लिएर मनमुटाव भएपछि रिसाएका रावलले यसअघि सांसद पदबाटै राजीनामा दिएका थिए । त्यसपछि नेपालसँग टाढिएका रावल नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा पनि उपस्थित भएनन् ।
आफू पक्षीय रावल एकाएक रिसाएपछि ओली पक्षसँग नजिक हुन नदिनका लागि माधवकुमार नेपाल बुधबार अपरान्ह उनलाई भेट्न उनकै निवास टोखा गएका हुन् । भेटमा नेपालले रावललाई आफूबाट केही गल्ती भएको भए बिर्सन आग्रह गरेको बुझिएको छ । ओलीको प्रतिगमनका विरुद्ध सँगै अग्रपंक्तिमा रहेर लडेका नेताहरु विभाजित हुँदा भोलिका दिनमा ओलीले झनै हेप्न सक्ने भएकाले एकै ठाउँमा उभिनुपर्ने भन्दै माधव नेपालले रावललाई सम्झाएको रावल निकट स्रोतले जनाएको छ ।