पृथ्वीमा रहेका हरेक मानिसको आ–आफ्नै सौख हुने गर्दछ । मान्छेहरु आफ्नो सौख पूरा गर्ने चक्करमा कयौं आश्चर्य कामहरु गर्न पुग्दछन् । यसै क्रममा पाकिस्तानकी एक महिला आफ्नो सौख पूरा गर्न प्रत्येक शुक्रबार बेहुली बन्ने गरेकी छन् ।
पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र श्रृंगार गरी बेहुली बन्ने गरेकी छन् । पाकिस्तानको लाहौरमा बस्ने हीरा जीशान ४४ वर्षकी भइन् । उनी हरेक शुक्रबार श्रृंगार गरेर बेहुलीको पहिरन लगाउँछिन् । हात र खुट्टामा मेहन्दी, बेहुलीको पोसाक र गहना लगाएर उनी दिनभर सजिएर बस्छिन् ।
हीराका अनुसार १६ बर्ष पहिले उनकी आमा गम्भीर बिरामी भइ अस्पताल भर्ना गरिएको थियो । आमाको अन्तिम इच्छा थियो आफूलाई रगत दिने व्यक्तिसँग छोरीको विवाह भएको हेर्ने । उनले अस्पतालमै उक्त व्यक्तिसँगै साधरण विवाह गरिन् । जिवनको महत्वपूर्ण क्षण विवाहको दिन पनि पहिरन लाउन नपाउँदा उनी साह्रै निरास भएकी थिइन ।
विवाह भएको केहि दिनमा नै हिराको आमाको मृत्यु भयो । विवाह पछि हिराका ६ सन्तान भए तर, दुईको मृत्यु भयो । जसका कारण उनी डिप्रेशनमा गइन् । यो सब अतितलाई भुलाउन उनले हप्तामा एक पल्ट वेहुली बन्ने गरेकी छिन । यसो गर्दा आफु खुसी हुने र विगतलाई भुल्ने बताउछिन् ।






