कालिनागेश्वर शिव मन्दिरको धार्मिक तथा सामाजिक विकासका लागि अक्षय कोष निर्माण गर्ने सिलसिलामा हेटौंडा हुप्रचौरका कृष्णप्रसाद शिवाकोटीले मन्दिर व्यवस्थापन समितिलाई सात लाख एक सय एघार रुपैंयाँ प्रदान गरेका छन् ।
काठमाडौको भिमसेनगोला स्थित मन्दिर प्रांगणमा शनिबार आयोजित वृहत धार्मिक कार्यक्रमका बीच ९७ वर्षिय शिवाकोटीले सो रकम प्रदान गरेका हुन् । शुरुमा दोलखाको साविक क्षमावती गाविसमा रहेका कृष्णप्रसाद शिवोकाटी तराईका विभिन्न जिल्ला बसाई सर्दै हाल हेटौंडा उपमहानगरपालिका हुप्रचौरमा बसोबास गर्दे आएका छन् ।
हिन्दू धर्मको जगेर्नामा अनवरत रुपमा लाग्दै आएका शिवाकोटी भारद्धाज गोत्रिय बन्धुहरुका लागि मात्रै नभएर सबैका लागि प्रेरणाको स्रोत भएको शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले बताए । कुल पितृहरुको उद्दार कार्यमा लागेका ९७ वर्षिय कृष्णप्रसाद शिवाकोटीलाई विशेष सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
१ करोड रुपैंयाँ अक्षय कोष स्थापना गर्ने उद्देश्यका साथ स्वर्गिय नारायणप्रसाद शिवाकोटीले २०७३ सालमा अक्षय कोष निर्माण अभियान प्रारम्भ गरेका थिए । एक लाख एक हजार एक सय एघार रुपैंयाँ राखेर शुरु गरिएको यो अभियानमा हालसम्म करिब २० लाख रुपैंयाँ संकलन भइसकेको छ ।






