Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नै किन छाने देउवाले ?


आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएका उमेश श्रेष्ठ यतिबेला सबैतिर चर्चाको पात्र बनेका छन् । प्रधानमन्त्री देउवाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने कुनै सांसदलाई स्वास्थ्य मन्त्री नै नियुक्त गर्छन् भन्ने अनुमान विपरित व्यवसायी पृष्ठभूमीका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि यतिबेला देउवा आलोचित बनेका छन् ।
महामारीको यो समयमा राज्यमन्त्रीबाटै स्वास्थ्य मन्त्रालय चलाउने मनसाय प्रधानमन्त्री देउवाले राखे भन्ने विषयले मात्रै देउवा आलोचित भएका होइनन् देउवाले पत्नी अराजु राणाका व्यवसायिक साझेदार उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाए भन्ने प्रश्नले धेरैलाई सशंकित बनाएको छ ।
श्रेष्ठ राजनीतिकर्मी कम र व्यवसायी ज्यादा हुन् । लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालयमा उनको लगानी रहेको छ । सँगै जलविद्युत, कृषि र स्वास्थ्य क्षेत्रमा उनको लगानी छ । राजनीतिमा उनी पैसाकै बलमा प्रवेश गरेका व्यक्ति मानिन्छन् । कांग्रेसमा दशकौंदेखि राजनीति गरेका निष्ठावान नेताहरुलाई पछि पार्दै उनी संविधानसभा सदस्यका रुपमा संसद भवन छिरेपछि धेरै कांग्रेसका नेता कार्यकर्ता आश्चर्यचकित नै भएका थिए । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुका अनुसार उमेश श्रेष्ठ नेपाली कांग्रेसका अन्य नेताहरुसँग खासै नजिक थिएनन् । कांग्रेस सभापति देउवाकी श्रीमति आरजु राणाका उनी व्यवसायीक साझेदार थिए । त्यसैले उनको सम्बन्ध आरजु हुँदै देउवासँग राम्रो बन्यो । २०७४ को चुनावमा त उमेश श्रेष्ठ सभापति देउवाको चुनावी खर्चको चाँजोपाँजो मिलाउने मुख्य व्यक्ति नै बने । श्रेष्ठसँगै बिनोद चौधरी र अनिल रुँगटा देउवाको चुनावी खर्च बन्दोबस्त गर्ने मुख्य व्यक्ति बनेका थिए ।
देउवा श्रेष्ठले गरेको त्यो गुण तिर्न तयार त थिए तर, उपयुक्त समय आएको थिएन । ओली नेतृत्वको सरकार आउट भएर देउवा प्रधानमन्त्री बन्ने अवसर आएपछि भने देउवाका लागि श्रेष्ठलाई मन्त्रीपरिषद्मा तान्ने अवसर पनि जु¥यो । अरु मामलामा सत्ता सहयात्री अन्य दल र तीनका नेतासँग सरसल्लाह गरेरै अघि बढ्ने गर्दै आएपनि उमेश श्रेष्ठका सवालमा देउवाले त्यो आवश्यक ठानेनन् । सत्ता सहयात्री दलबाट असहमति व्यक्त भए उमेश श्रेष्ठको गुण तिर्नबाट देउवा बञ्चित हुने थिए । त्यहीभएर देउवाले कोहीसँग यो विषयमा सल्लाह नै गरेनन् । र, सिधै देउवाका आर्थिक व्यवस्थापक उमेश श्रेष्ठलाई स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिए ।
ओली सरकारका पालामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकाहरुमार्फत ओलीले व्यापक भ्रष्टाचार गरेको आरोप लगाएका देउवाले श्रेष्ठमार्फत चाहिँ के के गर्ने हुन् त्यो भोलिका दिनले देखाउला । तर, मोती दुगडहरुलाई मन्त्री बनाएर ओली जति आलोचित बनेका थिए उमेश श्रेष्ठलाई मन्त्री बनाएर देउवा त्यो भन्दा ज्यादा आलोचित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार