जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने निर्वाचन आयोगको निर्णयसँगै महन्थ ठाकुर पक्ष अन्यौलमा परेको छ । आयोगको यो निर्णयले जसपा अध्यक्षका रुपमा रहँदै आएका ठाकुरको अध्यक्ष पद मात्रै गएको छैन उनी पक्षधर सांसदहरुको सांसद पद पनि जाने निश्चित देखिएको छ । लोभले लाप लापले विलाप भन्ने नेपाली उखान यतिबेला महन्थ ठाकुर पक्षका सांसदहरुका हकमा चरितार्थ झैं हुँदैछ ।
केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने समयबाट ध्रुविकृत भएको जसपा ओलीले दोस्रोपटक गरेको संसद विघटनपछि भने अनौपचारिक रुपमा विभाजनकै अवस्थामा पुगको थियो । महन्थ ठाकुर पक्षीय सांसदहरु ओलीको कदमको पक्षमा उभिएका थिए भने उपेन्द्र यादव पक्षीय सांसदहरु ओली कदमको विपक्षमा । ओली कदमको पक्षमा महन्थ ठाकुर पक्षीय सांसदहरु उभिनुको अर्थ ओलीले अघि सारिदिएको मन्त्री पद थियो । पहिलोपटक ओलीले संसद विघटन गर्दा त्यसको चर्को विरोध गरेका महन्थ ठाकुर पक्षीय नेताहरु दोस्रोपटक मन्त्री पदकै लोभमा एकाएक ओली पक्षमा उभिए । ओलीले पहिलोपटक गरेको संसद विघटनलाई प्रतिगमन भनेका नेताहरु दोस्रोपटकको संसद विघटनलाई अग्रगमन भन्न थाले ।
ओलीले दिएको आश्वासन अनुसार उनीहरु मन्त्री पनि बने । तर, संसद विघटनपछि गरिएको मन्त्रीपरिषद् विस्तारलाई सर्वोच्चले बदर गरिदिएसँगै उनीहरुको मन्त्री पद गयो ।
मन्त्री पदकै लागि संसद विघटनका पक्षमा उभिएका सांसदहरुमध्ये केही सांसदहरुको बोली फेरियो । मन्त्री पदबाट बाहिरिएसँगै ठाकुर पक्षीय केही ंसांसद संसद विघटनको विपक्षमा रहेको उपेन्द्र यादव पक्षसँग मिल्न पुगे । विवादको चुरो कुरो कुनै सैद्धान्तिक थिएन । पदीय बेमेलता मात्रै थियो ।
त्यो बीचमा ठाकुर र यादव पक्षबीच कारबाहीको दोहोरी नै चल्यो । कहिले ठाकुरले यादवलाई कारबाही गरे त कहिले यादवले ठाकुरलाई । तर, सोमबार भने निर्वाचन आयोगले ती सबै विवादको निरुपण गरिदिएको छ । र, जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारीणि समितिमा यादवका पक्षमा ३४जना सदस्य उभिए भने ठाकुरका पक्षमा १६ जना । एक जना रेशम चौधरी भने तटस्थ रहे । कार्यकारीणि समितीमा ठाकुरका पक्षमा जम्मा ३२ प्रतिशत मात्रै सदस्य रहे । ता कि पार्टी विभाजनको मान्यता पाउन कार्य समिती सदस्यको ४० प्रतिशत र सांसद संख्याको पनि ४० प्रतिशत सदस्य आवश्यक पर्छ । ४० प्रतिशत नपु¥याई अलग पार्टी बनाए दल त्याग सम्बन्धी ऐन आकर्षित भई सांसदहरुको पद जान्छ । अब आधिकारिकता नपाएको ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने या त्यही पार्टीमा रहीरहने यो उनीहरुका लागि संकटको विषय हो ।
निर्वाचन आयोगबाट आधिकारिता पाएको यादव पक्षले जसपामा नै रहने हो भने ठाकुर पक्षलाई आत्मालोचना गरेर आउन भनेको छ । आत्मालोचना गरेर जसपामा नै रहने निर्णय गरेको खण्डमा महन्थ ठाकुर पक्षका सांसदहरुको पद जोगिने सम्भावना छ । अन्यथा खाई पाई आएको सांसद पद जाने निश्चित छ ।
तर, राजनीति हो जे पनि हुन सक्छ । हिजोका दिनमा कहिले संसद विघटनका पक्षमा त कहिले विपक्षमा उभिँदै आएको ठाकुर पक्षले सांसद पद जोगाउँनका लागि हिजोका कमी कमजोरीप्रति आत्मालोचना नगर्ला भन्न सकिन्नँ । मर्नु भन्दा बहुलाउनु बेस भन्ने उखान नेपाली समाजमा प्रचलनमा छ । त्यही उखान सम्झँदै सांसद पद नै गुमाउनु भन्दा आत्मालोचना नै ठीक भनेर ठाकुर पक्षले त्वम् शरणम् ग¥यो भने पनि नौलो चाहिँ नहोला ।