Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

कोरोना संक्रमणदर बढेसँगै अस्पतालमा बिरामीको चाप, संक्रमितमा देखिए नयाँ लक्षण


कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा मनिषा रावलले बताए । उनका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।

टेकुका निर्देशक डा रावलका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष आईसीयूमा अक्सिजन दिइ उपचार गरिएको छ । नौ जनाको हाइ डिपडेन्सी कक्ष एचडीयूमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना हुने धेरैजसोमा घाँटीमा अप्ठ्यारो हुने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता लक्षण देखिएका छन् ।

टेकु अस्पतालमा सय शय्यासहित २४ आईसीयू रहेको छ । अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताए । यसैगरी बलम्बुको सशस्त्र प्रहरी बल एपीएफ अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा प्रविन नेपालले भर्ना भएका धेरै बिरामीलाई अहिले अक्सिजन नचाहिएको बताए ।

भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेको उनको भनाइ छ । यसअघि सङ्क्रमणको दोस्रो लहरका बेलामा धेरैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा पछिल्लो २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् ।

अस्पतालका प्रमुख डा भूपेन्द्र बस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बताए । उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार