प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद विस्तार गर्ने सम्भावना रहेको छ । मन्त्रीपरिषद विस्तारकै विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक देउवाको नीजि निवास बुढानिलकण्ठमा बसेको छ भने आजै जनता समाजवादी पार्टीको कार्यकारीणि बैठक पनि बस्दैछ ।
प्रधानमन्त्रीमा नियुक्त भएका दिन ४ जना मन्त्री र तीन दिनअघि मात्रै एक जना स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्ने बाहेक देउवाले अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
मन्त्रीपरिषदलाई जतिसक्दो छिटो पूर्णता दिने पक्षमा देउवा रहेपनि गठबन्धनका सहयात्री दलहरुबाट मन्त्रीहरुको नाम सिफारिस नगर्दा देउवा अप्ठ्यारोमा परेको कांग्रेसका एक नेताले बताए । उनका अनुसार माओवादी केन्द्र र जसपाले आज मन्त्रीहरुको टुंगो लगाउँने बचन दिएका छन् ।
माओवादी केन्द्रको बैठकले मन्त्रीको टुंगो लगाउँने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइसकेको छ भने जसपाको कार्यकारिणी बैठकले आजै मन्त्रीहरुको नाम टुंगो लगाउँने बुझिएको छ ।