एकअर्काका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ ।
पार्टी एकताका लागि प्रयास गरिरहेको एमालेको विघटित कार्यदलका सदस्यहरुको जोडबलमा दुई शीर्ष नेताबीच भेटवार्ता हुन लागेको हो ।
अहिलेसम्म भेटवार्ताको स्थान र समय भने गोप्य राखिएको छ । यसैबीच एमालेका दुई शीर्ष नेताबीच भेटवार्ता हुनुअघि माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।
माधव नेपाल निवास कोटेश्वर आसपासकै कुनै एक घरमा भेटवार्ता भएको बुझिएको छ । यद्यपि भेटवार्तामा के कुराकानी भयो भन्ने विषय भने खुलेको छैन ।